आज बलिदानी दिवस, मधेशमा विभिन्न कार्यक्रमसहित स्मरण



जनकपुरधाम, माघ ५ । मधेश विद्रोहका प्रथम शहीद रमेश महतोको शहादतको स्मरणमा आज मधेशभर “बलिदानी दिवस” विविध कार्यक्रमसहित मनाइँदै छ।

२०६३ साल माघ ५ गते मधेश बन्दको आह्वान गरिएको दिन सिरहाको लहानमा तत्कालीन माओवादी सेनाको गोली लागेर रमेश महतोले शहादत दिएका थिए। उनको शहादतपछि मधेश विद्रोह थप उग्र बन्दै आन्दोलनले व्यापक रूप लिएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष माघ ५ लाई बलिदानी दिवसका रूपमा मनाइँदै आएको छ।

दिवसको अवसरमा आज बिहानै सिरहाको लहानस्थित शहीद स्मारकमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै, जनकपुरधामको शहीद द्वारमा पनि शहीदको सम्झनामा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। अघिल्ला सरकारहरूले यस दिन औपचारिक कार्यक्रमसमेत आयोजना गर्दै आए पनि, वर्तमान सरकारले के–कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

मधेश विद्रोहका अगुवा दल जनता समाजवादी पार्टी नेपालले बलिदानी दिवस क्षेत्रीय तथा स्थानीय तहमा विविध कार्यक्रम गरी मनाउने जनाएको छ। यसैगरी, जनमत पार्टीले समेत जिल्ला समितिहरूलाई बलिदानी दिवस मनाउन परिपत्र जारी गरेको छ।

मधेश आन्दोलनमा ज्यान आहुति दिएका शहीदहरूको योगदानलाई स्मरण गर्दै बलिदानी दिवसले मधेशको पहिचान, अधिकार र स्वाभिमानको संघर्षलाई नयाँ पुस्तासम्म जीवित राख्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ५, सोमबार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको