काठमाडौं , माघ १० । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनको औपचारिक चुनावी अभियान मधेशबाट सुरु गर्ने भएको छ। पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गरी निर्वाचन प्रचार–प्रसारको सुरुआत गर्ने निर्णय गरेको हो।
सभामा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। उपसभापति शर्मा केन्द्रीय चुनावी प्रचार–प्रसार समितिका संयोजकसमेत बनेका छन्। उनी सभाको समन्वय र व्यवस्थापन केन्द्रीय तहबाट गर्नेछन्।
मधेश प्रदेश कांग्रेस समितिको बैठक शनिबार बस्नेछ, जसमा प्रदेशस्तरीय प्रचार–प्रसार तयारीका विषयमा छलफल हुनेछ। प्रदेश प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार, ‘चुनावी प्रचारलाई प्रभावकारी बनाउन प्रदेश समितिको बैठक आवश्यक छ। माघ १६ को बृहत् सभामा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको छ।’
कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना गतिविधि तीव्र बनाइरहेका छन्।
यसअघि जनकपुरमै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि चुनावी सभा आयोजना गरेको थियो। उक्त सभामा काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रूपमा सम्बोधन गरेका थिए।
विश्लेषकहरूले कांग्रेसले मधेशबाट चुनावी अभियान सुरु गर्नुले यो प्रदेशलाई पार्टीले उच्च प्राथमिकतामा राखेको संकेतको रूपमा व्याख्या गरेका छन्।




