कर्णालीका ७ क्षेत्रमा प्रलोपाका उम्मेदवार : ‘हेभीवेट’ शर्मादेखि सहिद पुत्र र बुद्धिजीवीसम्म



सुर्खेत ,माघ १० । जनार्दन शर्मा संरक्षणमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले कर्णाली प्रदेशका ७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले युवा, बुद्धिजीवी र अनुभवी नेताहरूलाई मैदानमा उतारेको हो ।

रुकुम पश्चिमबाट पार्टी अध्यक्ष जनार्दन शर्मा स्वयं ‘हेभीवेट’ उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । ०७४ पछि लगातार चुनाव जित्दै आएका शर्मा रुकुमको विकासका प्रमुख सूत्रधारका रूपमा परिचित छन् । पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा माओवादी केन्द्रको उपमहासचिव भइसकेका नेता हुन् । यहाँ उनका प्रतिस्पर्धीका रूपमा नेकपाबाट गोपाल शर्मा, एमालेबाट नन्दराम शर्मा, कांग्रेसबाट राजु केसी र रास्वपाबाट मानबहादुर शाही रहेका छन् ।

जुम्लाबाट प्रलोपाले बौद्धिक व्यक्तित्व मनऋषि धिताललाई उम्मेदवार बनाएको छ । पूर्व पत्रकार तथा लेखक धिताल युद्धकालीन पत्रकारितामा सक्रिय रहँदै आएका हुन् । एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरेका धिताल सामाजिक कार्यमा समेत सक्रिय छन् । नयाँ अनुहारलाई प्राथमिकता दिने जुम्लामा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

हुम्लाबाट ३० वर्षीय सहिद पुत्र जटिल कार्की प्रलोपाको उम्मेदवार छन् । ०५८ सालमा उनका बुबाको राज्यद्वारा हत्या भएको थियो । युवामाझ लोकप्रिय कार्की पुस्तान्तरण र राजनीतिक सुधारको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै सल्यानबाट सन्तोषकुमार राई, डोल्पाबाट २६ वर्षीय युवा नेता विकास बुढा, मुगुबाट ऐटनकुमार मल्ल र जाजरकोटबाट मेघबहादुर वली उम्मेदवार छन् । कालिकोटमा धर्मराज न्यौपानेले उम्मेदवारी दर्ता गरे पनि पछि माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समर्थन गर्दै फिर्ता लिएका छन् ।

१० जिल्ला र १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा दैलेख र सुर्खेतका चार क्षेत्रमा भने प्रलोपाले उम्मेदवार उठाएको छैन ।

प्रकाशित मिति: २०८२ माघ ११, शनिवार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको