काठमाडौँ, माघ १२ । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा सोमबार हस्ताक्षर भएको छ। यो सम्झौता साधारण श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ साउदीको रियादमा सम्पन्न भएको हो।
सम्झौतामा नेपाल तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजी ले हस्ताक्षर गरेका हुन्। सम्झौताअघि दुवै देशका श्रम मन्त्रीबीच द्विपक्षीय बैठक समेत भएको थियो।
श्रम मन्त्री भण्डारीले भने– “यो सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत–प्रभावी बनाउनेछ। यसले साउदीमा कार्यरत नेपालीहरूको हकहित र रोजगार सुरक्षालाई नयाँ उचाइ दिनेछ।”
नेपालले २०७० सालदेखि साउदी अरबसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो। दशकौं प्रयासपछि यो सम्झौता पूर्ण भएको हो। सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन र श्रमिक अधिकार संरक्षण जस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको छ। यसअघि साउदीमा काम गर्ने केही श्रमिकले न्यूनतम तलब नपाउने, करारपत्र फेरबदल हुने, घर जान नपाउने र उपचारमा लापरबाही हुने समस्या भोग्दै दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
नेपाली राजदूतावासले जनाएको छ, अबको समयमा सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्नेछ।




