पुराना नेताप्रति असन्तुष्टि, नयाँ नेतृत्वतर्फ मतदाता



ओम प्रकाश यादव
रौतहट, माघ १३ । रौतहट क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकुमार दास यतिखेर बिहानदेखि बेलुकासम्म मतदाता रिझाउन निरन्तर घरदैलो कार्यक्रममा व्यस्त छन्।

पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका नेता दास यसपटक जसरी पनि जित निकाल्ने लक्ष्यका साथ मतदातालाई भेट्दै आफ्ना धारणा र प्रतिबद्धता राखिरहेका छन्। गाउँ–टोलमा पुगेर मतदाताको समस्या सुन्ने, सुझाव लिने र समाधानका उपाय प्रस्तुत गर्ने काममा उनी सक्रिय देखिन्छन्।



पुराना दल र पुराना नेताहरूले देश बनाउन नसकेको आम जनताको बुझाइ बढ्दै गएको भन्दै नेता दास नयाँ अनुहार र परिवर्तनको चाहनाअनुसार चुनावी मैदानमा उत्रिएको बताउँछन्। जनतामा देखिएको असन्तोष, बेरोजगारी, महँगी र सुशासनको अभावले यसपटक परिवर्तन अनिवार्य भएको उनको भनाइ छ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि देशभर परिवर्तनको आवाज थप बलियो बनेको र त्यसको प्रत्यक्ष प्रभाव यस निर्वाचनमा देखिएको नेता दासको दाबी छ। उनले आफू जेन्जी आन्दोलनको म्यान्डेटअनुसार अघि बढिरहेको र युवा पुस्ताको नेतृत्व समेटेर अगाडि बढेकाले जनताले यसपटक आफूलाई विजयी गराउनेमा ढुक्क रहेको बताएका छन्।

घरदैलोका क्रममा नेता दासलाई स्थानीयवासीको उल्लेख्य साथ र समर्थन देखिन थालेको छ। मतदाताहरूले अब भाषणभन्दा काम गर्ने, इमानदार र जनतासँग प्रत्यक्ष जोडिने नेतृत्व चाहिएको प्रतिक्रिया दिएका छन्।

नेता दासले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषकको समस्या समाधान, पूर्वाधार विकास र सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन्। रौतहट क्षेत्र नं ४ मा यसपटकको चुनाव परिवर्तन र नयाँ नेतृत्वको परीक्षाका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ माघ १३, मंगलवार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको