मधेश जनविद्रोहकै कारण आरक्षण सुनिश्चित भएको हो : उपेन्द्र यादव



सप्तरी, माघ १८ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहकै कारण देशमा मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, पिछडावर्ग तथा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण सुनिश्चित हुन सकेको बताएका छन्।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले शनिबार सप्तरी क्षेत्र नम्बर–३ अन्तर्गत विष्णुपुर गाउँपालिका–३, मुहर्नियामा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा सम्बोधन गर्दै मधेश आन्दोलनका उपलब्धीबारे चर्चा गरे। उनले भने, “यदि मधेश आन्दोलन भएको हुँदैनथ्यो भने देशका शोषित, उत्पीडित जाति तथा समुदायको आरक्षण सुनिश्चित हुने थिएन।”



तत्कालीन मधेशी जनअधिकार फोरमदेखि हालको जसपा नेपालसम्म आइपुग्दा मधेशका सपूतहरूले दिएको बलिदानीकै कारण अधिकार र अवसर सुनिश्चित भएको स्मरण गर्दै अध्यक्ष यादवले अझै बाँकी अधिकारका लागि संघर्ष आवश्यक रहेको बताए। अधिकार, पहिचान, स्वाभिमान र प्रतिनिधित्वका लागि संघर्ष गर्ने पार्टी जसपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले पार्टीलाई मजबुत बनाए मात्र पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने उल्लेख गरे।

अधिकार र प्रतिनिधित्वसँगै विकास पनि अपरिहार्य रहेको उल्लेख गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्यायमा पहुँच, कृषि विकास तथा उद्योग स्थापना आवश्यक रहेकोमा जोड दिए। उनले भने, “अधिकारको सही प्रयोग गर्न शैक्षिक रूपमा सक्षम र सबल बन्नु जरुरी छ।”

जनताको बलिदानीबाट प्राप्त उपलब्धीमाथि प्रहार भइरहेको भन्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न आमजनता सजग रहनुपर्ने बताए। शोषित–उत्पीडित जनतालाई जसपा नेपालको पक्षमा उभिन आग्रह गर्दै उनले भने, “जसपा नेपाल मजबुत भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुन्छ र देश अधिकार, प्रतिनिधित्व र विकासको बाटोमा अघि बढ्छ।”

कार्यक्रममा जसपा नेपालकी नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, समानुपातिक उम्मेदवारहरू चुल्हाइ मण्डल, मानती सदा, स्वस्तिका चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

शनिबारै अध्यक्ष यादवसहित जसपा नेपालका नेताहरूले विष्णुपुर गाउँपालिकाका जमुनी, अण्डीपट्टी, बेल्हा, कट्टी र रञ्जितपुरमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई समेत सम्बोधन गरेका छन्।

प्रकाशित मिति: २०८२ माघ १८, आईतवार ०७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको