मधेश प्रदेशसभा ८ वर्ष पूरा, विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै



जनकपुरधाम, माघ २१ । मधेश प्रदेशसभा आज आफ्नो स्थापना भएको ८ वर्ष पूरा गरेको छ । माघ २१ गतेकै दिन मधेश प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

प्रदेशसभाले प्रत्येक वर्षझैं यस वर्ष पनि वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । वार्षिकोत्सवको अवसरमा प्रदेशसभाले मानव सेवा आश्रम, जानकी वृद्धाश्रम, कबिर बाल आश्रमलगायतका सामाजिक संस्थालाई सहयोग प्रदान गरेको छ ।

त्यस्तै वृक्षारोपण तथा सरसफाइसम्बन्धी कार्यक्रमहरू समेत सम्पन्न गरिसकिएको प्रदेशसभाले जनाएको छ । वार्षिकोत्सवकै अवसरमा मंगलबार प्रदेशसभाको परिसरमै वित्तीय संघीयता विषयक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रदेशसभाका सभामुख रामआशिष यादवका अनुसार आज प्रदेशप्रमुख डा. सुरेन्द्र लाभको प्रमुख आतिथ्यतामा विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको छ ।

वार्षिकोत्सवका कार्यक्रमका लागि मिथिला कला झल्किने स्टेज निर्माण गरिएको छ भने मिथिला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने तयारी गरिएको छ ।

प्रकाशित मिति: २०८२ माघ २१, बुधबार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको