भारत तेस्रो पटक टी-२० विश्वकप च्याम्पियन, न्यूजिल्यान्ड ९६ रनले पराजित



एजेन्सी, फागुन २५। भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जित्दै इतिहास रचेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारत तेस्रो पटक टी–२० विश्वकप जित्ने पहिलो राष्ट्र बनेको हो।

यसअघि भारतले सन् २००७ र २०२४ मा टी–२० विश्वकप जितेको थियो भने २०२६ मा पनि उपाधि उचाल्दै नयाँ कीर्तिमान कायम गरेको छ। साथै भारत लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली पनि बनेको छ।



फाइनलमा भारतले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो। भारतका बलरले उत्कृष्ट प्रदर्शन गर्दै न्यूजिल्यान्डलाई दबाबमा राखेका थिए।

भारतका जसप्रीत बुमराहले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिँदै घातक बलिङ गरे। अक्षर पटेलले ३ ओभरमा २७ रन दिँदै ३ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उत्कृष्ट प्रदर्शनका लागि बुमराह ‘प्लेयर अफ द म्याच’ घोषित भए।

न्यूजिल्यान्डका लागि ओपनर टिम सिफर्टले २६ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरे भने कप्तान मिचेल स्यान्टनरले ४३ रन जोडे। तर अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन नसक्दा टोली लक्ष्यसम्म पुग्न सकेन।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५५ रनको विशाल योगफल तयार गरेको थियो। भारतका लागि सञ्जु सामसनले ३३ बलमा ८९ रनको उत्कृष्ट इनिङ्स खेले। उनले प्रतियोगिताभरि लगातार तीन अर्धशतक बनाउँदै ‘प्लेयर अफ द टूर्नामेन्ट’को उपाधि पनि जिते।

अभिषेक शर्माले २१ बलमा ५२ रन बनाउँदै आक्रामक सुरुवात दिलाए भने इशान किशनले २३ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेले। अन्तिम समयमा शिवम दुबेले ८ बलमा २६ रन बनाउँदै भारतलाई २ सय ५५ रनसम्म पुर्‍याए।

न्यूजिल्यान्डका जिमी निसमले एक ओभरमा तीन विकेट लिँदै खेलमा फर्कने प्रयास गरे पनि भारतको ठूलो स्कोरका कारण टोलीलाई जित दिलाउन सकेनन्।

यस उपाधिसँगै भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी ट्रफी जितेको छ। भारतले जुन २०२४ मा टी–२० विश्वकप, मार्च २०२५ मा च्याम्पियन्स ट्रफी र अहिले २०२६ मा पुनः टी–२० विश्वकप जित्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो वर्चस्व कायम राखेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार ०८:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको