एजेन्सी, फागुन २५ । मोजतबा खामेनेई इरानका नयाँ सुप्रीम लिडर नियुक्त भएका छन्। इरानी सरकारी टेलिभिजनका अनुसार पूर्व सुप्रीम लिडर अयातुल्ला अली खामेनेईको निधनपछि उनका छोरा मोजतबाले देशको सबैभन्दा शक्तिशाली पद सम्हालेका हुन्।
मध्यपूर्व क्षेत्रमा इरान र इजरायल तथा संयुक्त राज्य अमेरिका बीच बढ्दो तनाव र युद्धको अवस्थाबीच इरानमा नयाँ नेतृत्वको घोषणा गरिएको हो। विश्लेषकहरूका अनुसार इरानको शक्तिशाली अर्धसैनिक संस्था इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सको समर्थनका कारण मोजतबा खामेनेईलाई सुप्रीम लिडरको जिम्मेवारी दिइएको मानिएको छ।
इरानमा सुप्रीम लिडर पदलाई सबैभन्दा प्रभावशाली मानिन्छ। देशको राजनीति, सुरक्षा नीति तथा सैन्य गतिविधिमा अन्तिम निर्णय गर्ने अधिकार यही पदसँग हुन्छ। मोजतबा खामेनेईलाई लामो समयदेखि सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो, यद्यपि उनले यसअघि कुनै निर्वाचित वा सरकारी पद सम्हालेका थिएनन्।
उता डोनाल्ड ट्रम्पले युद्धपछि इरानमा कसले सत्ता सम्हाल्ने भन्ने विषयमा आफ्नो धारणा पनि रहने बताएका छन्। त्यसैगरी इरानका राष्ट्रपति मसूद पेजेश्कियनले छिमेकी राष्ट्रहरूलाई अमेरिका र इजरायलको आक्रमणमा सहभागी नहुन आग्रह गरेका छन्।

यसैबीच बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले इरानबाट मिसाइल प्रहार भएको दाबी गरेका छन्। क्षेत्रीय तनाव बढिरहेका बेला इरानमा नयाँ सुप्रीम लिडर नियुक्ति भएको घटनालाई मध्यपूर्वको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।







