प्रतिनिधिसभाको पहिलो बैठक अस्थायी सभाकक्षमा हुने



काठमाडौं , फागुन २६ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पहिलो बैठक अस्थायी सभाकक्षमा हुने भएको छ । निर्माणाधीन नयाँ संसद भवनमा प्रतिनिधिसभाको बैठक कक्ष तत्काल तयार नहुने भए पछि नव निर्वाचित सांसदहरूको सपथ ग्रहण तथा पहिलो बैठक सञ्चालन गर्न अस्थायी हल तयार पार्ने काम तीव्र पारिएको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथ तथा प्रारम्भिक बैठकका लागि नयाँ भवनको माथिल्लो तलामा रहेको बहुउद्देश्यीय हललाई अस्थायी बैठक कक्षका रूपमा तयारी गरिँदै छ। उक्त हलमा माइक (कन्फ्रेन्सिङ) प्रणाली, सभामुखको आसन, सांसदहरूका सिट तथा अन्य आवश्यक संरचना जडान गर्ने काम भइरहेको छ।



यसै हलबाट प्रधानमन्त्रीको विश्वासको मत, राष्ट्रपतिको सम्बोधन लगायत प्रारम्भिक संसदीय बैठकहरू सञ्चालन गर्ने तयारी गरिएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत विशेष भवन निर्माण आयोजनाका प्रतिनिधि रोशन श्रेष्ठले प्रतिनिधिसभाको स्थायी बैठक कक्ष तयार हुन अझै समय लाग्ने बताए। उनका अनुसार केही समयका लागि बहुउद्देश्यीय हलमै बैठक सञ्चालन गर्ने गरी अस्थायी व्यवस्था मिलाइँदैछ।

तर संसद सचिवालयका अनुसार उक्त हलमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन गर्न भने सिट अभाव हुने देखिएको छ। प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सांसद गरी संयुक्त बैठकका लागि कम्तीमा ३३४ सिट आवश्यक पर्छ।

अहिले प्रतिनिधिसभाको स्थायी बैठक कक्षमा फल्स सिलिङ जडानको काम भइरहेको छ। फलामका संरचना जडान भइरहेका कारण कार्पेट बिछ्याउन तथा सिट राख्न समस्या भइरहेको आयोजनाले जनाएको छ।

सहरी विकास मन्त्रालयले संसद भवन निर्माण छिटो सम्पन्न गर्ने लक्ष्य राखे पनि प्राविधिक कारणले काम ढिलाइ भएको बताइएको छ। हालको अवस्थाअनुसार कम्तीमा असार मसान्तसम्म नयाँ संसद भवनको काम पूर्ण रूपमा सम्पन्न नहुने देखिएको छ।

निर्माण कार्य ढिलो हुँदा नव निर्वाचित सांसदहरूको सपथ ग्रहण तथा प्रारम्भिक बैठक अस्थायी व्यवस्थामै सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। यसका लागि संसद सचिवालयले आवश्यक तयारी तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको