फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा किशोरको मृत्यु



डडेल्धुरा, फागुन २७ । डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार दुई किशोरले बन्दुक समातेर फोटो खिच्ने क्रममा अचानक बन्दुक पड्किएपछि घटना भएको हो।

बैतडीको शिवनाथ गाउँपालिका–४ का महरा दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका–४ का अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको