काठमाडौं, फागुन ३० । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतार स्थित नेपाली दुतावासले कतारमा रहेका र स्वदेश फर्कन इच्छुक नेपाली नागरिकलाई आवेदन दिन विशेष अनुरोध गरेको छ।
शनिबार जारी सूचनामा दूतावासले दोहामा रहेका नेपालीलाई दोहा स्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन आग्रह गरेको जनाएको छ।
दूतावासका अनुसार कतारमा बसोबास गरिरहेका र कतार आइडी भएका नेपालीहरूले साउदी अरेवियाको विमानस्थल प्रयोग गरी नेपाल फर्कन चाहने भए आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।
यस सम्बन्धी थप जानकारीका लागि दूतावासले ५०६६०६२२ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
मध्यपूर्वमा पछिल्ला दिनहरूमा बढ्दो सुरक्षा चुनौतीका कारण विदेशमा रहेका नेपालीहरूको सुरक्षाबारे विभिन्न निकायले निगरानी बढाएका छन्।







