सप्तरी, फागुन ३० । इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजान चलिरहेको छ । देशभरका मुस्लिम समुदाय विहानैदेखि रोजा (ब्रत) बसेर पवित्र धार्मिकग्रन्थ कुरानपाठ गर्ने कार्यमा व्यस्त देखिन्छन् ।
यस्तो धार्मिक विधिमा एक सात बर्षीय बालक पनि सरिक भएपछि सबैको ध्यान तानेको छ । ती बालक हुन राजविराज ४ निवासी उमर फारुख ।
मो.हलिम अख्तर उर्फ मज्जो तथा अहमदी खातुन दम्पतीको एक्लो सन्तान उमर फारुख दिनभर रोजा (निराहार ब्रत) मा बस्ने तथा साँझ निश्चित समय पुरा भएपछि अन्नजल ग्रहण (रोजा अफतार) मा सहभागि हुने गर्दछन् । रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र विरामीलाई रोजा अनिवार्य छैन् । यस बाहेक अन्य हरेक मुस्लिम समुदायका सदस्यले रोजा बस्नुपर्ने चलन रहेको उमर फारुखका वुवा मज्जोले बताए ।
तर, नवालक छोरा उमर फारुखले आफु पनि रोजा बस्ने इच्छा देखाएपछि स्विकृती दिएको उनको भनाई छ ।
चार/पाँच बजे एका विहानैको अन्न (सेरी) खाएपछि दिनभर निराहार ब्रत बस्ने उमर फारुखले आफुलाई रोजा (ब्रत) बस्न इच्छा लागेकाले आमा बुवालाई भनेर यसमा सहभागी भएको सुनाए ।
एक महिना सम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानिय इदगाहमा पुगी सामुहिक नवाज पढने तथा गरिव असहायलाई आ–आफ्नो सम्पतिको केही हिस्सा सहयोग गरेर इद मनाउने चलन रहेको राजविराज ४ का मुस्लिम अगुवा फैयाज अन्सारीको भनाई छ ।






