सिराहा , चैत १ । स्वस्तिक पाठशाला, मिर्चैया–६ को आयोजनामा विद्यार्थीहरूमा नेपाली साहित्यप्रति रुचि तथा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले “सिर्जना संवाद” नामक साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली साहित्यका विभिन्न विधामा सक्रिय साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित साहित्यकारहरूले कविता, गजल, मुक्तक, व्यङ्ग्य, साहित्यिक लेखन तथा कला सिर्जनाका विविध पक्षबारे आफ्ना अनुभव र विचार विद्यार्थीहरूसँग साझा गरेका थिए।
कार्यक्रमका क्रममा कवि जीवन आरोहीले कविताको गद्य विधा प्रस्तुत गर्नुभयो भने उद्वव अविचल र भीम राउतले गजल प्रस्तुत गर्नुभयो। त्यस्तै गणेश तिमिल्सिनाले मुक्तक, नारद प्रसाद काफ्लेले साहित्यिक व्यङ्ग्य प्रस्तुत गर्नुभयो। कलाकार गोविन्द खड्काले चित्रकला तथा मूर्तिकलासम्बन्धी आफ्नो सिर्जनात्मक अनुभव साझा गर्नुभयो।
साथै अग्नि कवच र प्रेम घिमिरेले कवितामा छन्द विधाको महत्व र सान्दर्भिकताबारे विचार व्यक्त गर्नुभयो भने रामचन्द्र पौडेलले साहित्यिक सिर्जनाको सामाजिक महत्वबारे धारणा राख्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रमणकुमार यादव उपस्थित रहनुभएको थियो। विशेष अतिथिका रूपमा मिर्चैया नगरपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश ठाकुर तथा वडा नम्बर ६ का वडाध्यक्ष रामप्रकाश महासेठको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थासँग आबद्ध साहित्यकारहरूको सहभागिता रहेको थियो। सहभागी संस्थागत प्रतिनिधिहरूमध्ये प्रगतिशील लेखक सङ्घ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरे, मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दाहाल, बर्दिवास साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष यशोधा श्रेष्ठ, सिस्नुपानी महोत्तरीका अध्यक्ष नारद प्रसाद काफ्ले, कमला साहित्य कला समाज धनुषाका अध्यक्ष गणेश तिमिल्सिना, गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष अग्नि कवच, प्रगतिशील लेखक सङ्घ महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल, प्रगतिशील लेखक सङ्घका सचिव भीम राउत, विश्व नेपाली साहित्य महासङ्घ महोत्तरी शाखाका अध्यक्ष उद्वव अविचल तथा कमला साहित्य कला समाजका कोषाध्यक्ष (चित्रकार तथा मूर्तिकार) गोविन्द खड्का लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम कक्षा ९ की छात्रा कृति कविता नायक र कक्षा १० का छात्र दिवाकर चौधरीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममार्फत विद्यार्थीहरूलाई नेपाली साहित्यका विभिन्न विधासँग परिचित गराउँदै सिर्जनात्मक सोच, भाषा अभिव्यक्ति र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ।






