पेट्रोलियम पदार्थको मुल्यमा भारी बृद्धि , पेट्रोलमा १५ र डिजेल–मट्टीतेलमा १०



जनकपुरधाम, चैत २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ।

निगमका अनुसार बढेको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ दरअनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ।

यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ तोकिएको छ।

त्यसैगरी पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता तथा अमेरिका–इजरायल–इरानबीचको बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको उल्लेख गर्दै यसबाट उपभोक्तामा पर्न सक्ने असरप्रति निगम सचेत र संवेदनशील रहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २, सोमबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको