कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा अस्वीकृत हुने संकेत



काठमाडौं , चैत ६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।

बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी महाधिवेशन, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा भावी रणनीति मुख्य एजेण्डाका रूपमा रहनेछन्।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको भन्दै सभापति थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। तर पार्टीभित्र उनको राजीनामा स्वीकृत नहुने संकेत देखिएको छ।

उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा पेश हुने जानकारी दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले सभापतिको राजीनामा पत्रसँगै अस्वीकृतिको प्रस्तावसमेत प्रस्तुत गरिने बताएका हुन्।

शर्माका अनुसार पराजयको नैतिक जिम्मेवारी लिने कुरा सकारात्मक भए पनि वर्तमान अवस्थामा पार्टीलाई सम्हाल्नु नै सभापतिको प्रमुख दायित्व हो। उनले बैठकमा प्रारम्भिक निर्वाचन समीक्षा, राजीनामा पत्रमाथि छलफल तथा अस्वीकृतिको प्रस्ताव अघि बढाइने उल्लेख गरेका छन्।

आजको बैठकले पार्टीको आगामी दिशा र नेतृत्वको भूमिकाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ६, शुक्रबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको