एजेन्सी, चैत ९ । इजरायलले लेबनानमा हिजबुल्लाह र हमासविरुद्ध आक्रामक सैन्य अभियान चलाउँदै हमासका वरिष्ठ वित्तीय संचालक वालिद मोहम्मद दीबलाई मारेको छ । दीब लेबनानमा हमासको वित्तीय नेटवर्कको प्रमुख सदस्य थिए र संगठनका लागि पैसा हस्तान्तरण तथा लडाकू भर्ती कार्यमा संलग्न थिए।
इजरायली सेनाले लितानी नदीमा रहेका मुख्य पुल र केही भवनलाई पनि निशाना बनाएको छ। दक्षिणी सीमासँग नजिकका घरहरू ध्वस्त पारिएको भनिएको छ, जहाँ हिजबुल्लाहले हतियार र गोला बारूद भण्डार गरेको आशंका गरिएको थियो।
सेनाका अनुसार, पुल ध्वस्त पार्नुको मुख्य उद्देश्य हिजबुल्लाहलाई इजरायलविरुद्ध हमला गर्नबाट रोक्नु हो। यसैबीच हिजबुल्लाहको हमलामा पहिलोपटक एक इजरायली नागरिकको मृत्यु भएको छ।
लेबनानमा जारी संघर्षमा अहिलेसम्म करिब १००० जनाको मृत्यु भइसकेको छ, जसमा १२० बालबालिका, ८० महिला र ४० स्वास्थ्यकर्मी छन्। पछिल्ला १० दिनमा इजरायली सेनाले १० वटा पुलहरू ध्वस्त पारेको छ।






