बर्दिया, चैत १० । गुलरिया नगरपालिका–११ गणेशपुरमा हुलाकी सडक अवरुद्ध गर्दै आन्दोलन गरेका स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरीसहित केही स्थानीय घाइते भएका छन्।
भारतीय सीमाबाट खुला रूपमा लागुऔषध भित्रिएको भन्दै आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। सडक खुलाउन पुगेको प्रहरी टोली र स्थानीयबीच विवाद चर्किँदै झडपमा परिणत भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टका अनुसार स्थानीयबाट लगातार ढुंगा प्रहार भएपछि प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रयोग गरेको थियो।
झडपमा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् भने उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। घटनास्थलबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीयका अनुसार भारततर्फबाट विशेषगरी ‘ब्राउन सुगर’ र ‘कोरेक्स’ जस्ता लागुऔषधको ओसारपसार बढ्दै गएको छ। यसको असरका कारण दुई जनाको ज्यान गएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
सीमावर्ती नाका लौकही हुँदै हुने लागुऔषध कारोबार पूर्ण रूपमा रोक्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा झडप भएको बताइएको छ।
प्रहरीका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ।






