काठमाडौं, चैत ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।
मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले पूर्वनिर्धारित एजेन्डामाथि आफ्नो धारणा राखिरहेका छन्। बैठकमा सभापति गगनकुमार थापाले भदौ २४ देखि २६ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका प्रस्ताव गरेपछि त्यस विषयमा छलफल केन्द्रित भएको छ।
यसका साथै समसामयिक राजनीतिक विषय, सुशासन सुदृढीकरण, संविधान संशोधनसम्बन्धी अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, र केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा पनि बैठकमा विस्तृत छलफल हुने बताइएको छ।






