एजेन्सी, चैत १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा अभिव्यक्ति दिदै ‘ढुंगे युग’मा फर्काइदिने चेतावनी दिएका छन । ह्वाइट हाउसबाट सम्बोधन गर्दै उनले आगामी दुईदेखि तीन हप्ताभित्र इरानमाथि कडा सैन्य कारबाही हुन सक्ने संकेत गरेका हुन ।
‘हामी उनीहरूलाई अत्यन्त कडा प्रहार गर्नेछौं,’ भन्दै ट्रम्पले इरानलाई ‘ढुंगे युग’मा फर्काइदिने चेतावनी दिएका छन्। उनको यो अभिव्यक्तिसँगै विश्व बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
बीबीसीका अनुसार सम्बोधनअघि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल करिब १०० डलरको हाराहारीमा थियो। सम्बोधनपछि भने करिब ४ प्रतिशतले बढेर १०५।३८ डलर पुगेको छ।
विशेषगरी होर्मुज जलडमरूमध्य सम्बन्धी कुनै नयाँ घोषणा आउन सक्ने अपेक्षा गरिएको थियो। तर त्यसबारे स्पष्ट निर्णय नआएपछि बजारमा अनिश्चितता बढ्दै तेल मूल्य उकालो लागेको बताइएको छ। विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले यसको स्थायित्व अत्यन्त संवेदनशील मानिन्छ।
फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायल ले इरान माथि संयुक्त आक्रमण सुरु गरेपछि उक्त मार्ग झण्डै अवरुद्धजस्तै बनेको छ। इरानले पनि प्रतिकारस्वरूप यस मार्ग हुँदै सञ्चालन हुने जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ।
ट्रम्पले वार्ताबाट समाधान ननिस्किए इरानका मुख्य ऊर्जा तथा विद्युत् संरचनामा आक्रमण गर्ने चेतावनी दिएका छन्। उनले अहिलेसम्म इरानको तेल पूर्वाधारमा हमला नगरेको दाबी गर्दै त्यस्तो कदमले पुनर्निर्माणको सम्भावना नै समाप्त हुने बताएका छन्।
उनले अमेरिकी कारबाहीका कारण इरानको नौसेना, वायुसेना र क्षेप्यास्त्र कार्यक्रम गम्भीर रूपमा कमजोर भएको दाबीसमेत गरेका छन्।
यसैबीच, इजरायल, साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइनजस्ता खाडी मुलुकहरूको समर्थनको प्रशंसा गर्दै ट्रम्पले कूटनीतिक प्रयास जारी रहे पनि सैन्य विकल्प खुला राखिएको स्पष्ट पारे।
उनको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वको तनाव थप चर्किने संकेत दिएको छ भने यसको प्रत्यक्ष असर विश्व ऊर्जा आपूर्ति र तेल बजारमा देखिन थालेको छ






