चितवन , चैत २८ । चितवन राष्ट्रिय निकुञ्ज भित्र गस्तीमा खटिएका सुरक्षाकर्मी र आमा गैँडाबीच जम्काभेट हुँदा एक सिपाही गम्भीर घाइते भएका छन्। ज्यान जोगाउने क्रममा गरिएको प्रतिकारमा गैँडाको मृत्यु भएको छ।
शुक्रवार दिउँसो करिब १२:५० बजे नयाँ गोरख गण अन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोष्ट नजिकै पैदल गस्तीमा रहेका चार सिपाहीसँग अर्धवयस्क बच्चासहितको आमा गैँडाको अचानक जम्काभेट भएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सिपाहीहरूले सुरुवातमा जोगिन प्रयास गर्दै १० राउण्ड हवाइ फायर गरेका थिए। तर पनि गैँडाले लखेट्न नछोडेपछि सिपाही विकास घर्तीलाई लडाएर आक्रमण गर्न थालेको बताइएको छ।
साथीको ज्यान जोगाउन अन्य सिपाहीहरूले थप दुई राउण्ड गोली चलाउँदा गैँडा ढलेको थियो। गोली लागेपछि गैँडाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घाइते सिपाही घर्तीको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनको वीरेन्द्र सैनिक अस्पताल को सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।
निकुञ्जका अनुसार करिब २४ वर्षको उक्त गैँडाको पेटभन्दा माथि करङ क्षेत्रमा गोली लागेको थियो। मृत गैँडाको खाग र खुर सुरक्षित राखिएको छ भने घटनास्थल अमलटारी सेक्टरबाट करिब ५ किलोमिटर भित्र कोर क्षेत्रमा पर्ने जनाएको छ।
घटनापछि निकुञ्ज टोलीले आवश्यक अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया पूरा गरेको जनाएको छ।






