एजेन्सी, चैत २९ । भारतीय संगीतकी चर्चित तथा प्रभावशाली गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहँदै आएकी उनलाई शनिबार मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र नभई अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा समेत अमिट छाप छोडेकी थिइन्। उनको निधनसँगै भारतीय संगीतले एउटा ऐतिहासिक युग गुमाएको विश्लेषकहरूले बताएका छन्।
परिवारका अनुसार उनको अन्त्येष्टि सोमबार गरिनेछ। उनका छोरा आनन्दले आइतबार निधनको पुष्टि गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरूले पनि यो समाचार सार्वजनिक गरेका छन्।
सन् १९३३ मा जन्मिएकी आशा भोसलेले ९ वर्षकै उमेरदेखि व्यावसायिक गायन सुरु गरेकी थिइन्। सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेपछि उनले १९५० को दशकमा बलिउडमा आफ्नो बलियो पहिचान बनाएकी थिइन्। त्यसपछि तीन दशकभन्दा बढी समयसम्म उनी शीर्ष संगीतकारहरूको पहिलो रोजाइकी गायिका रहिन्।
उनको गायन शैली विविधतापूर्ण थियो। सुरुमा नृत्यप्रधान गीतमा सीमित भए पनि उनले पछि गजल, शास्त्रीय तथा आधुनिक गीतमा पनि उत्कृष्टता देखाइन्। विशेषगरी ‘उमराव जान’ र ‘इजाजत’ जस्ता फिल्मका गीतहरूले उनलाई थप उचाइमा पुर्याएको थियो।
उनी सात पटक फिल्मफेयर पुरस्कारबाट सम्मानित भएकी थिइन् भने राष्ट्रिय फिल्म पुरस्कारसमेत दुई पटक जितेकी थिइन्। हिन्दी फिल्म संगीतमा उनको स्थान उनकी दिदी लता मंगेसकरसँग तुलना गरिन्थ्यो।
सन् २०२३ मा दिएको एक अन्तर्वार्तामा उनले समकालीन संगीतप्रति खासै रुचि नरहेको बताएकी थिइन्। उनले प्रायः शास्त्रीय संगीत, गजल तथा भीमसेन जोशी का गीतहरू सुन्ने गरेको उल्लेख गरेकी थिइन्।
उनको निधनले सम्पूर्ण संगीतप्रेमीहरूलाई स्तब्ध बनाएको छ। भारतीय संगीतमा उनको योगदान सधैँ स्मरणीय रहनेछ।






