एजेन्सी, वैशाख ६ । रूस-यूक्रेन युद्धमा दुवै पक्षले एक–अर्काका बन्दरगाह तथा ऊर्जा संयन्त्रलाई लक्षित गर्दै आक्रमण तीव्र पारेका छन्। पछिल्ला घटनाक्रमपछि ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका छन् भने धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार रूसी सेनाले दक्षिणी क्षेत्र ओडेसा स्थित बन्दरगाह संरचनामा ड्रोन आक्रमण गरेको छ। आक्रमणका कारण गोदाम, इन्धन डिपो र प्रशासनिक भवनहरूमा क्षति पुगेको बताइएको छ।
त्यस्तै, उत्तरी क्षेत्रमा भएको आक्रमणपछि करिब ३ लाख ८० हजार उपभोक्ताको विद्युत् सेवा अवरुद्ध भएको छ। घटनामा एक जनाको मृत्यु र २६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ।
रूसले एकै रात २१९ वटा लामो दूरीका ड्रोन प्रयोग गरी विभिन्न लक्ष्यमा आक्रमण गरेको युक्रेनी पक्षको दाबी छ। ऊर्जा संयन्त्रमा भएको क्षतिका कारण धेरै क्षेत्र अन्धकारमा बस्न बाध्य भएका छन्।
यसैबीच, युक्रेनले पनि प्रतिआक्रमण गर्दै रूसका तेल प्रशोधन केन्द्र र निर्यात बन्दरगाहलाई लक्षित गरेको जनाएको छ। समारा क्षेत्रका दुई रिफाइनरी र बाल्टिक सागर क्षेत्रको एक बन्दरगाहमा विस्फोट तथा आगलागी भएको विवरण छ।
युक्रेनी ड्रोन सेनाका कमान्डर रोबर्ट ब्रोभडी ले रूसी ऊर्जा संरचनामा सफल आक्रमण भएको दाबी गरेका छन्। उनका अनुसार केही स्थानमा आगो नियन्त्रणमा ल्याइसकिएको छ।
विश्लेषकहरूका अनुसार ऊर्जा पूर्वाधारमाथि बढ्दो आक्रमणले युद्धलाई नयाँ चरणमा पुर्याएको छ, जसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकको जनजीवनमा देखिएको छ।






