एजेन्सी, वैशाख ७ । इजरायली सेनाले दक्षिण लेबनान भित्र आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरू देखाउँदै पहिलो पटक नयाँ सैन्य नक्शा सार्वजनिक गरेको छ। यो कदम हिजबुल्लाहसँग भएको युद्धविरामपछि आएको हो।
इजरायली सेनाले जारी गरेको नक्शामा सीमा क्षेत्रभन्दा करिब ५ देखि १० किलोमिटर भित्र पर्ने लेबनानी भूभागमा आफ्ना तैनाती क्षेत्रहरू देखाइएको छ। सो क्षेत्रमा धेरै गाउँहरू खाली तथा क्षतिग्रस्त अवस्थामा रहेको जनाइएको छ।
यो कदम अमेरिका मध्यस्थतामा भएको १४ अप्रिलको युद्धविराम सम्झौतापछि सार्वजनिक भएको हो। तर, यस विषयमा लेबनान सरकार वा हिजबुल्लाह समूहको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
इजरायलले उक्त क्षेत्रमा बफर जोन निर्माण गर्ने योजना बनाइरहेको बताएको छ। इजरायली सेनाका अनुसार, उत्तरी इजरायलका नागरिक बस्तीहरूलाई हिजबुल्लाहका सम्भावित आक्रमणबाट सुरक्षित राख्न यो क्षेत्र आवश्यक भएको हो।
इजरायली रक्षा मन्त्री इसराइल काट्जले ती स्थानहरू हिजबुल्लाहले सैन्य गतिविधिका लागि प्रयोग गर्दै आएको दाबी गरेका छन्।






