एजेन्सी, वैशाख १३ । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा शनिबार राति गोली चलेपछि कार्यक्रममा भागमभाग मच्चिएको छ। घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फर्स्ट लेडी मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्स उपस्थित थिए।
गोलीको आवाज सुन्नासाथ सुरक्षाकर्मीहरूले तत्काल राष्ट्रपति, फर्स्ट लेडी र उपराष्ट्रपतिलाई घेरा बनाएर सुरक्षित स्थानतर्फ सारेका थिए। कार्यक्रममा सहभागी अन्य व्यक्तिहरू भने ज्यान जोगाउन टेबलमुनी लुकेका थिए। घटनापछि उपस्थित व्यक्तिहरूमा त्रासको वातावरण देखिएको थियो।
रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पसहित कार्यक्रममा रहेका सबै उच्च अधिकारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत घटनालाई “रोमाञ्चक साँझ” भन्दै सुरक्षा निकायको प्रशंसा गरेका छन्। उनले हमलावरलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै कार्यक्रम जारी राख्नुपर्ने बताएका छन्।
सीएनएनका अनुसार सुरक्षाकर्मीहरूले एक संदिग्ध व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएका छन्। उक्त घटना कार्यक्रम स्थल नजिकै भएको बताइएको छ। त्यसपछि सम्पूर्ण क्षेत्रको सुरक्षा जिम्मा युनाइटेड स्टेट सिक्रेट सर्विसले लिएको छ।
गोली चलेपछि डिनर हलभित्र रहेका मानिसहरू टेबलमुनी लुकेका थिए भने सुरक्षाकर्मीहरू तीव्र गतिमा हलभित्र प्रवेश गरी सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न थालेका थिए। बाहिरतिर प्रहरी सायरन बज्न थालेपछि थप अफरातफरी मच्चिएको थियो।
कार्यक्रममा सयौं पत्रकार, चर्चित व्यक्तित्व तथा राष्ट्रिय नेताहरूको उपस्थिति रहेको थियो। रक्षा सचिव पेटे हेगस्ट र विदेश सचिव मार्को रुवियो पनि कार्यक्रममा सहभागी थिए।
घटनापछि अमेरिकी अटर्नी जनरलले भिडियो सन्देशमार्फत आफूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिँदै होटल र आसपासको क्षेत्रको सुरक्षा कडा बनाइएको बताएकी छन्। उनले वासिङ्टनकी मेयरतथा प्रहरी अधिकारीहरू घटनास्थलतर्फ गइरहेको जानकारी दिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।






