एजेन्सी, वैशाख २४ । मध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज स्ट्रिट अबिलम्ब खोल्न इरानलाई चिनले आग्रह गरेको छ ।
चीन र इरानबीच भएको उच्चस्तरीय छलफलमा चीनले ईरानलाई उक्त रणनीतिक मार्ग छिटोभन्दा छिटो पुनः खोल्न आग्रह गरेको हो ।
बीजिङमा भएको भेटमा चीनका विदेशमन्त्री वाङ यीले ईरानी विदेशमन्त्री अब्बास अराघचीसँग छलफल गर्दै होर्मुज जलमार्गबाट सुरक्षित र सामान्य आवागमन पुनः सुचारु गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा चासो भएको बताएका छन्। उनले सम्बन्धित पक्षहरूले यस विषयमा छिटो प्रतिक्रिया दिनुपर्नेमा जोड दिएका छन्।
चीनले ईरानले परमाणु हतियार विकास नगर्ने प्रतिबद्धतालाई स्वागत गर्दै त्यसको प्रशंसा गरेको छ। तर उसले ईरानको शान्तिपूर्ण परमाणु ऊर्जाको प्रयोग गर्ने अधिकारलाई समर्थन पनि जनाएको छ।
चीनले पश्चिम एशियामा जारी तनाव अन्त्य गर्न पूर्ण युद्धविराम आवश्यक रहेको बताउँदै सबै पक्षबीच प्रत्यक्ष वार्ताको आवश्यकता औँल्याएको छ।
यसैबीच, ईरानी विदेशमन्त्री अराघचीले चीनले प्रस्तुत गरेको चार–सूत्रीय शान्ति प्रस्तावको सराहना गरेका छन्। उनले चीनको क्षेत्रीय शान्ति र स्थायित्वमा सकारात्मक भूमिकाको अपेक्षा व्यक्त गर्दै युद्धपछि विकास र सुरक्षाबीच सन्तुलन हुने नयाँ क्षेत्रीय संरचनाको समर्थन गरेका छन्।
उता, अन्तर्राष्ट्रिय दबाब पनि बढिरहेको छ। अमेरिकी पक्षले ईरानी तेल ट्यांकरमाथि कारबाही गरेको दाबी गर्दै होर्मुज क्षेत्रमा तनाव थपिएको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि ईरानका राष्ट्रपति मसूद पेजेश्कियनसँग टेलिफोन वार्ता गर्दै होर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताएका छन्।
विश्लेषकहरूका अनुसार होर्मुज जलमार्गमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति र तेल बजारमा ठूलो असर पार्न सक्ने भएकाले आगामी दिनहरूमा ईरानको निर्णय निर्णायक हुने देखिन्छ।






