एजेन्सी, असार ९ । अमेरिका र ईरानबीच जारी शान्ति वार्तामा प्रगति भएको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। विश्व बजारमा तेल आपूर्तिको अवस्था सहज बन्ने अपेक्षाले लगानीकर्ताहरूको विश्वास बढ्दा तेलको मूल्यमा दबाब परेको हो।
मंगलबारको कारोबारमा ब्रेन्ट क्रुड प्रतिव्यारेल ७८ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) ७४ डलरभन्दा माथि कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अघिल्लो कारोबार सत्रमा तेलको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको थियो।
अमेरिकाले ईरानमाथि लगाइएका केही प्रतिबन्धमा ६० दिनको अस्थायी छुट दिएपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो। स्विट्जरल्यान्डमा भएको वार्तालाई फलदायी ठहर गर्दै वासिङ्टनले ईरानी कच्चा तेल तथा पेट्रोलियम पदार्थको सीमित बिक्री र ढुवानीलाई अस्थायी स्वीकृति दिएको छ।
यो निर्णयले ईरानको अर्थतन्त्रलाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा थप ईरानी तेल आपूर्ति हुने सम्भावना बढेकाले मूल्यमा कमी आएको विश्लेषण गरिएको छ। नयाँ व्यवस्थाअनुसार अमेरिकी रिफाइनरीसहित विभिन्न देशका खरिदकर्ताले ईरानी तेल खरिद तथा भुक्तानी गर्न सक्नेछन्।
यद्यपि भू–राजनीतिक जोखिम पूर्ण रूपमा समाप्त नभएकाले बजार अझै सतर्क अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्।
अमेरिकी र ईरानी अधिकारीहरूले वार्ताको पहिलो चरणलाई सकारात्मक र रचनात्मक भनेका छन्। तर केही महत्वपूर्ण विषयमा अझै मतभेद कायम रहेको देखिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ईरान अन्तर्राष्ट्रिय आणविक निरीक्षकलाई प्रवेश दिन सहमत भएको दाबी गरेका थिए। तर तेहरानले उक्त दाबी अस्वीकार गरेको छ।
यसबीच विश्व ऊर्जा बजारको ध्यान रणनीतिक महत्वको जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’तर्फ केन्द्रित रहेको छ। हालैको द्वन्द्वका क्रममा यस मार्गमा जहाज आवतजावत प्रभावित हुँदा तेल आपूर्तिमा समस्या आएको थियो। जसका कारण यस वर्षको सुरुआतमा कच्चा तेलको मूल्य उच्च स्तरमा पुगेको थियो।
पछिल्ला दिनमा भने हर्मुज मार्ग हुँदै तेल ढुवानी क्रमशः सामान्य बन्दै गएको संकेत देखिएका छन्। रिपोर्टअनुसार ईरानले गत साता मात्र तीन करोड ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ। कुवेत, संयुक्त अरब इमिरेट्स तथा अन्य उत्पादक राष्ट्रहरूले पनि वैकल्पिक मार्गमार्फत आपूर्ति जारी राखेका छन्।
आगामी दिनमा अमेरिका र ईरानबीच थप वार्ता हुने अपेक्षा गरिएको छ। आगामी छलफलमा ईरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा, इजरायल–हिजबुल्लाह युद्धविरामको अवस्था तथा हर्मुज जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने विषय प्राथमिकतामा रहने बताइएको छ।






