जनकपुरधाम, साउन २७ । साउन सकिन लाग्दासमेत पर्याप्त वर्षा हुन नसक्दा चर्को गर्मीले मधेशको जनजीवन प्रभावित भएको छ ।
पछिल्ला केही दिनयता तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
दिनभर चर्को घाम लाग्ने तथा वर्षा भएलगत्तै पुनः कडा घाम लाग्ने क्रमले गर्मी थप बढाएको स्थानीयवासी बताउँछन्। मध्याह्नको समयमा घरबाहिर निस्कनसमेत कठिन हुने अवस्था सिर्जना भएको छ। छहारीमा बस्दा पनि अत्यधिक पसिना आउने र पंखाबाट समेत तातो हावा आउने गरेको उनीहरूको भनाइ छ।
जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाका अनुसार मंगलबार जनकपुरधामको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन भएको थियो। तापक्रम ४१ डिग्री पुगे पनि ‘महसुस हुने तापक्रम’ करिब ४८ डिग्री सेल्सियससम्म पुगेको उनले जानकारी दिए ।
मधेशमा मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा पर्याप्त वर्षा नभएको र वर्षा रोकिएलगत्तै चर्को घाम लाग्दा वाष्पीकरण बढेर गर्मी थप चर्किएको झाको भनाइ छ। उनका अनुसार आगामी दुई दिनसम्म पनि गर्मीको अवस्था यस्तै रहने सम्भावना छ। बुधबार जनकपुरधामको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
गर्मी बढेसँगै सर्वसाधारणलाई दिउँसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा अत्यधिक गर्मीबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन आवश्यक देखिएको छ।






