काठमाडौं, भदौ ७ । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आगामी भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने भएका छन्।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्मृति दिवस आयोजना गर्ने जानकारी दिएको हो।
जेनजी शहीद श्रीराम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंका अनुसार स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिनेछ।
आन्दोलनका क्रममा क्षति पुगेको उक्त संसद भवन परिसरमै कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उनले बताए। स्मृति दिवसको सम्पूर्ण व्यवस्थापन तथा खर्च सरकारले व्यहोर्नुपर्ने मागसमेत शहीद परिवार र घाइतेहरूले गरेका छन्।
चौलागाईंले शहीद परिवार तथा घाइतेहरू आर्थिक रूपमा कमजोर रहेको भन्दै कार्यक्रमको स्वामित्व सरकारले लिनुपर्ने, तर आयोजकको भूमिका भने शहीद परिवार र घाइतेहरूले नै निर्वाह गर्ने बताए।
उनका अनुसार असोज १५ गतेदेखि सोही स्थानमा सातदिने महायज्ञ आयोजना गर्ने तयारीसमेत गरिएको छ। उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी पनि सरकारले लिनुपर्ने उनीहरूको माग छ।
चौलागाईंले महायज्ञको व्यवस्थापनबारे आफूले गृहमन्त्रीसँग छलफल गरेको भए पनि अहिलेसम्म सरकारबाट औपचारिक जानकारी नआएको बताए।
सरकारले यसअघि नै हरेक वर्ष भदौ २३ गतेलाई जेनजीशहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ। आगामी स्मृति दिवसमा शहीद परिवार, घाइते तथा आन्दोलनसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।






