नेपालगन्ज, भदौ १६ । बाँकेको नेपाल–भारत सीमास्थित नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक सहर अयोध्या, गोरखपुर र बनारससम्म सिधा ब्रोडगेज रेल सेवा सुरु भएको छ।
सोमबारदेखि सञ्चालनमा आएको रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै सीमावर्ती क्षेत्रमा व्यापार तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन्।
लामो समयको प्रतीक्षापछि सुरु भएको रेल सेवाबाट पश्चिम नेपालका नेपाली तीर्थयात्रीलाई भारतका प्रमुख धार्मिक स्थल पुग्न सहज हुने पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।
उनका अनुसार अयोध्याको राममन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिरलगायत धार्मिक स्थलमा जाने नेपालीका लागि रेल सेवा महत्वपूर्ण हुने भएको छ।
त्यसैगरी भारतका अयोध्या, गोरखपुर र बनारस क्षेत्रबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी तथा कैलाश मानसरोवरतर्फ जाने भारतीय तीर्थयात्रीका लागि पनि आवागमन सहज हुने श्रेष्ठले बताए।
‘अब पश्चिम नेपालका नेपालीका लागि अयोध्याको राममन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज भएको छ,’ उनले भने, ‘त्यसैगरी भारततर्फका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिकस्थलसम्म आउन सहज हुनेछ।’
रेल सेवा सञ्चालनसँगै भारतबाट नेपालमा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ। यसले नेपालगन्जसहित पश्चिम नेपालका धार्मिक तथा पर्यटन क्षेत्रको गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट रेल सेवा सञ्चालनमा आउनु यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार रेल सेवाबाट सबैभन्दा पहिले नेपालगन्जले प्रत्यक्ष लाभ लिन सक्नेछ। धार्मिक पर्यटनको प्रवर्द्धनसँगै होटल, यातायात, व्यापार तथा अन्य व्यावसायिक गतिविधि विस्तारमा समेत यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपालगन्ज रोडबाट सुरु भएको यो रेल सेवाले नेपाल र भारतबीचको धार्मिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउँदै सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ।






