एजेन्सी, भदौ १८ । प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेका बेला महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय भएका छन्। वैज्ञानिकहरूले यस्तो अवस्था दुर्लभ भएको बताएका छन्।
शक्तिशाली एल निनोको प्रभावका बीच उष्णकटिबन्धीय आँधी ‘मेरी’ बुधबार राति बाजा क्यालिफोर्नियाको तटमा पुगेसँगै तूफानमा परिणत भएको हो। यसअघि ‘करिना’ र ‘लोवेल’ नामका दुई शक्तिशाली श्रेणी–४ का तूफान प्रशान्त महासागर हुँदै पश्चिमतर्फ अघि बढिरहेका थिए।
मिशिगन विश्वविद्यालयकी जलवायु वैज्ञानिक जुलिया कोलका अनुसार समुद्रको तातो पानीले तूफानलाई थप ऊर्जा प्रदान गर्छ। साथै, एल निनोका कारण प्रशान्त क्षेत्रमा ठाडो हावाको प्रभाव कम हुँदा शक्तिशाली तूफान विकासका लागि अनुकूल वातावरण बन्ने गरेको उनले बताएकी छन्।
राष्ट्रिय तूफान केन्द्रका अनुसार ‘लोवेल’ हवाईको हिलोबाट करिब ७१० किलोमिटर दक्षिणमा रहेको छ। यो तूफान आगामी केही दिनसम्म शक्तिशाली रहने अनुमान गरिएको छ। यसको प्रभावस्वरूप हवाईका केही क्षेत्रमा जोखिमपूर्ण समुद्री छाल र प्रतिकूल मौसमको सम्भावना रहेको चेतावनी दिइएको छ।
‘करिना’ केही कमजोर भए पनि आगामी दुई दिनसम्म तूफानकै रूपमा रहने अनुमान गरिएको छ। यस्तै, ‘मेरी’ शुक्रबारसम्म थप शक्तिशाली बन्न सक्ने मौसमविद्हरूको आकलन छ।
मियामी विश्वविद्यालयका वायुमण्डलीय वैज्ञानिक बेन्जामिन किर्टम्यानले पछिल्ला दुई दशकमा विश्वको जलवायु प्रणाली उल्लेख्य रूपमा तातेको बताएका छन्। समुद्रको सतहको तापक्रम पनि उच्च रेकर्डको नजिक पुगेको उनको भनाइ छ।
यसअघि सन् २०१५ मा शक्तिशाली एल निनोका क्रममा प्रशान्त महासागरमा ‘किलो’, ‘इग्नासियो’ र ‘जिमेना’सहित चारवटा प्रणाली एकै समयमा सक्रिय भएका थिए।
अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासन ९एनओएए० का अनुसार यस वर्षको एल निनो रेकर्डमा सबैभन्दा शक्तिशालीमध्ये एक बन्ने सम्भावना ६९ प्रतिशत रहेको छ। यसको प्रभाव विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाका रूपमा देखिन थालेको बताइएको छ।
पेरुमा समुद्रको बढ्दो तापक्रमका कारण एन्कोभी माछाको उत्पादन प्रभावित भएको छ भने सुडानमा वर्षा ढिलो हुँदा नाइल नदीको पानीको सतह घटेको बताइएको छ।
एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिने प्राकृतिक जलवायु चक्रको तातो चरण हो। यसले विश्वका विभिन्न क्षेत्रमा गर्मी, खडेरी, चिसो तथा अत्यधिक वर्षाजस्ता मौसमी प्रभाव निम्त्याउन सक्छ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण एल निनोसँग सम्बन्धित वर्षा, खडेरी तथा अन्य चरम मौसमी प्रभाव अझ तीव्र हुन सक्ने चेतावनी दिएका छन्।






