ढाका, भदौ २० । बङ्गलादेशमा खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर विपक्षी दलका हजारौँ समर्थकले शनिबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको करिब छ महिनापछि भएको यो प्रदर्शनलाई सरकारविरुद्धको पहिलो ठूलो सडक आन्दोलनका रूपमा हेरिएको छ।
विपक्षी समर्थकहरू ब्यानर तथा प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए। त्यसपछि उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन्। पदयात्राका क्रममा विभिन्न स्थानमा थप विरोध कार्यक्रम आयोजना गर्ने तयारी रहेको जनाइएको छ।
विपक्षी नेता शफिकुर रहमानले आन्दोलनको मुख्य उद्देश्य खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत् सेवा सुनिश्चित गर्न सरकारलाई दबाब दिनु रहेको बताए।
उनले मध्यपूर्वमा जारी युद्धलगायतका कारण देशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढिरहेको उल्लेख गर्दै सरकारले सङ्कट व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाए।
यसैबीच, उच्च विद्युत् महसुलप्रति असन्तुष्टि जनाउँदै एक वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा कलेजका एक विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेका हुन्। आलोचकहरूले उक्त घटनालाई सरकारप्रतिको असहमति र आलोचनाप्रति बढ्दो असहिष्णुताको सङ्केतका रूपमा व्याख्या गरेका छन्।
विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाए।
उनले सरकारलाई जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।




