जनकपुरधाम, २० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेपछि अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा आफ्नो सक्रियता बढाउने भएका छन्।
पार्टीको निर्देशन अवज्ञा गर्दै एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिएको र त्यसपछि सरकारमा समेत सहभागी भएको आरोपमा जसपा नेपालले चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।
जसपा नेपालले सरकार गठनका क्रममा लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो। तर, पार्टीको निर्णयविपरीत सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएपछि सांसदहरूमाथि कारबाही गरिएको पार्टीले जनाएको छ।
बिहीबार सम्पन्न तीनदिने केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो। निष्काशनमा परेका चारमध्ये तीन जना प्रत्यक्ष निर्वाचित र एक जना समानुपातिक सांसद हुन्।
चार सांसदलाई कारबाही गरेपछि लुम्बिनी प्रदेशमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन अध्यक्ष यादव स्वयं प्रदेश केन्द्रित हुन लागेका हुन्।
जसपा नेपालका महासचिव डा। सुरेन्द्र झाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष यादवको नेतृत्वमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीनदिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमअनुसार भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही तथा २३ गते कपिलवस्तु र दाङमा जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ।
सांसदहरूको कारबाही र लुम्बिनी प्रदेशका केही शीर्ष नेताहरूमा देखिएको असन्तुष्टिका बीच अध्यक्ष यादवको लुम्बिनी केन्द्रित कार्यक्रमलाई पार्टी संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। पार्टीले प्रदेशमा संगठनलाई थप सक्रिय र एकताबद्ध बनाउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।






