मरियम नवाजको दाबी : पञ्जाबलाई छिमेकी देशभन्दा छिमेकी प्रान्तबाट बढी सुरक्षा खतरा



एजेन्सी, भदौ २१। पाकिस्तानको पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले पञ्जाबलाई छिमेकी देशभन्दा छिमेकी प्रान्तबाट बढी सुरक्षा खतरा रहेको बताएकी छन्।

लाहौरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरीसमेत रहेकी मरियमले पञ्जाबमा हुने आतंकवादी गतिविधि छिमेकी प्रान्तको सीमाबाट प्रवेश गर्ने गरेको दाबी गरिन्।

उनका अनुसार भारत र अफगानिस्तानजस्ता छिमेकी देशभन्दा पाकिस्तानकै छिमेकी प्रान्तहरूबाट पञ्जाबमा बढी सुरक्षा चुनौती उत्पन्न भइरहेको छ।

‘पञ्जाबमा आतंकवाद छिमेकी प्रान्तको सीमाबाट प्रवेश गरिरहेको छ,’ मरियमले भनिन्। करिब १३ करोड जनसंख्या रहेको पञ्जाबलाई छिमेकी देशभन्दा छिमेकी प्रान्तबाट बढी खतरा रहेको उनको भनाइ थियो।

विशेषगरी खैबर पख्तुनख्वा प्रान्तबाट पञ्जाबमा आतंकवादी गतिविधि प्रवेश गर्ने गरेको उनले आरोप लगाइन्। उनले पञ्जाब हाल सुरक्षित रहेको दाबी गर्दै प्रदेशले सामना गरिरहेको प्रमुख सुरक्षा चुनौती छिमेकी प्रान्तहरूबाट आएको बताइन्।

पाकिस्तानमा पछिल्ला वर्षहरूमा आतंकवादी गतिविधि बढ्दै गएको छ। विशेषगरी अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चुनौती थपिएको बताइन्छ।

यसैबीच, खैबर पख्तुनख्वाको प्रान्तीय सरकारको नेतृत्व गरिरहेको पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई०का नेता असद कैसरले मरियमको अभिव्यक्तिको आलोचना गरेका छन्। उनले पञ्जाबकी मुख्यमन्त्रीको टिप्पणीलाई अपमानजनक भएको बताएका छन्।

मरियमको पछिल्लो अभिव्यक्तिले पाकिस्तानभित्रै रहेका प्रान्तहरूबीचको सुरक्षा र राजनीतिक तनावलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार ०७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको