एसीसी प्रिमियर कपमा साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा



जनकपुरधाम, भदौ २१। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। लगातार तीन खेलमा जित हात पारेसँगै नेपालले समूह ‘ए’ मा ६ अंक जोडेको छ। यससँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालको जितमा गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ४४ रन बनाए। उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रोहित पौडेल २४ रनमा अविजित रहे। उनले ३७ बलमा २ चौका प्रहार गरे।

त्यस्तै, ईशान पाण्डेले ५९ बलमा २ चौकासहित ४० रन बनाए भने देव खनालले ५८ बलमा १ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे। ओपनर अर्जुन कुमालले १५ तथा आशिफ शेखले २० रन बनाए।

यसअघि मलेसियास्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १९० रनमा अलआउट भएको थियो।

साउदीका लागि ओपनर अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। उनलाई ललित राजवंशीले एलबीडब्ल्यू आउट गरे।

साउदीका अन्य ब्याटरमध्ये मुहम्मद आतिफले ३०, मोहम्मद हिसाम शेखले २८, मुहम्मद सकिबले १४, जैनुल अबिदिनले १२ तथा इस्तियाक अहमदले १० रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै १९ रन मात्र खर्चिए। दीपेन्द्र सिंह ऐरीले ९।२ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए।

ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट लिए।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको