झापा, भदौ २४ । झापाको दमकबाट प्रहरीले ४१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार दिउँसो दमक नगरपालिका–२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्लाको बौकामजरफ निवासी १९ वर्षीय मोहमद फिरोज र २५ वर्षीय चन्द्रकुमार मण्डल रहेका छन्।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएपछि दुवै जनामाथि खानतलासी गरिएको थियो। त्यस क्रममा उनीहरूको साथबाट ४१।२३० ग्राम ब्राउन सुगर बरामद भएको हो।
सीमापारबाट लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रहरीले बरामद लागूऔषध तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।






