काठमाडौं, भदौ २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौमा भएका हिंसात्मक तथा विध्वंसात्मक घटनाले लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि गम्भीर असर पारेको बताएका छन्। उनले हिंसा, अराजकता र दण्डहीनताको अन्त्य गरी लोकतान्त्रिक प्रणालीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
भदौ २४ गतेको घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले त्यस दिन राज्यका प्रमुख संरचना, लोकतन्त्रका आधारस्तम्भ तथा राष्ट्रिय अर्थतन्त्रमा ठूलो क्षति पुर्याउने गरी विध्वंस भएको दाबी गरेका छन्।
उनले भदौ २३ गतेको प्रदर्शन तथा त्यसपछिका घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घटनापछि पुनर्निर्माण र पुनरुत्थानमा सक्रिय राजनीतिक, सामाजिक क्षेत्रका व्यक्ति तथा व्यवसायीप्रति शुभेच्छा व्यक्त गरेका छन्।
ओलीका अनुसार लोकतन्त्रमा नागरिकले सरकारसँग आफ्ना माग, असन्तुष्टि र अपेक्षा राख्नु स्वाभाविक हो। संविधानले शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको उनले स्मरण गराएका छन्।
तर शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहको घुसपैठ भएपछि अवस्था नियन्त्रणबाहिर गएको ओलीको आरोप छ। आयोजकले कार्यक्रम स्थगित गरेपछि पनि केही समूहले युवालाई प्रयोग गर्दै संसद् भवनतर्फ आक्रमणका लागि उक्साएको उनको दाबी छ।
घटनापछि सरकारले न्यायिक आयोग गठन, सामाजिक सञ्जालमाथिको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार र पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको ओलीले उल्लेख गरेका छन्।
उनले भदौ २४ को घटनाको गहिरो अनुसन्धान गरी जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। साथै, हिंसात्मक गतिविधिमा संलग्नलाई उन्मुक्ति दिने तथा अनुसन्धान र अभियोजन रोक्ने प्रयासले दण्डहीनतालाई संस्थागत गर्ने चेतावनी दिएका छन्।
ओलीले भविष्यमा यस्ता घटना दोहोरिन नदिन हिंसा र अराजकताको विरोध गर्दै लोकतान्त्रिक संस्थाको सम्मान तथा कानुनी शासन बलियो बनाउनुपर्ने बताएका छन्।






