हुथी समूह विरुद्ध साउदी अरबको सहयोग अपील 



एजेन्सी , असोज १। यमनका हुथी समूह विरुद्ध साउदी अरबले सहयोगी राष्ट्रहरु संग सहयोगको अपील गरेका छन । हुथी समूह संग बढ्दो तनावबीच साउदी अरबले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर मिसाइलको अभाव हुन थालेपछि साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग यस्तो सहयोग मागेको हो ।

साउदीले हुथी तथा इरानसमर्थित अन्य समूहबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणबाट जोगिन क्षेत्रमै हवाई सुरक्षा उपकरण तथा सहयोग उपलब्ध गराउन आग्रह गरेको बताइएको छ । यद्यपि हालसम्म तीमध्ये कुनै मुलुकले सैन्य सहयोग पठाउने प्रतिबद्धता सार्वजनिक गरेको पुष्टि भएको छैन ।

साउदी अरबको प्रमुख सहयोगी तथा हतियार आपूर्तिकर्ता अमेरिकासमेत इरानसँग जारी द्वन्द्वका कारण आफ्नै इन्टरसेप्टर भण्डारमा दबाबमा रहेको एक क्षेत्रीय अधिकारीले बताएका छन् । यही परिस्थितिले साउदीलाई अन्य साझेदारसँग सहयोग माग्न बाध्य बनाएको जनाइएको छ ।

यसैबीच हुथी समूहले यमनको मारिब प्रान्तमा साउदी अरबको एफ–१५ लडाकु विमान खसालेको दाबी गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी विमानलाई निशाना बनाइएको दाबी गरेका छन् । समूहले विमानको भग्नावशेष देखाइएको भिडियोसमेत सार्वजनिक गरेको छ । तर साउदी पक्षले उक्त दाबीको तत्काल पुष्टि गरेको छैन र घटनालाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन ।

यसअघि साउदी अरबले इस्लाम धर्मावलम्बीहरूको पवित्र सहर मक्कानजिक ड्रोन आक्रमणको प्रयास भएको र आफ्नो हवाई सुरक्षा प्रणालीले त्यसलाई रोकेको दाबी गरेको थियो । हुथी समूहले भने मक्कालाई लक्षित गरी ड्रोन आक्रमण गरेको आरोप अस्वीकार गरेको छ ।

साउदी अरब र हुथीबीचको पछिल्लो तनावले लाल सागर क्षेत्रको सुरक्षा तथा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत चिन्ता बढाएको छ । क्षेत्रीय द्वन्द्वसँगै तेल तथा समुद्री व्यापारमा असर पर्न सक्ने जोखिमबारे पनि अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको