पाकिस्तानको कोहाटमा मस्जिदनजिक विस्फोट, १५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते



एजेन्सी, असोज २ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा शुक्रबार जुमेको नमाजका क्रममा मस्जिदनजिक भएको विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा ५० भन्दा बढी मानिस घाइते भएका छन्।

जिल्ला मुख्यालय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ताहिर अली शाहका अनुसार विस्फोटपछि १५ जनाको शव तथा ५० भन्दा बढी घाइतेलाई अस्पताल ल्याइएको छ। घाइतेमध्ये केही प्रहरी कर्मचारीसमेत रहेको बताइएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कोहाटको पुरानो पुलिस लाइन्स क्षेत्रमा रहेको मस्जिदनजिक नमाज चलिरहेका बेला विस्फोट भएको हो। विस्फोटका कारण मस्जिदको बाहिरी भागमा क्षति पुगेको छ भने एउटा पर्खालसमेत भत्किएको बताइएको छ। घटनास्थलमा ठूलो खाल्डो बनेको उद्धारकर्मीहरूले बताएका छन्।

विस्फोटपछि कोहाट–हाङ्गु सडकमा सबै प्रकारका सवारी आवागमन बन्द गरिएको छ। घाइतेको संख्या बढ्दै गएपछि कोहाटको म्ज्त्त अस्पतालमा आपत्काल घोषणा गरी उपचार तथा उद्धारलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थ बोकेको एउटा सवारीसाधन पुरानो पुलिस लाइन्स क्षेत्रमा प्रवेश गराइएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि विस्फोटको वास्तविक कारणबारे आधिकारिक रूपमा पुष्टि भइसकेको छैन।

रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीका अनुसार विस्फोटपछि सुरक्षाकर्मी र हतियारधारी समूहबीच गोली हानाहानसमेत भएको थियो। घटनापछि सुरक्षा निकायले क्षेत्रमा खोज तथा अनुसन्धान अघि बढाएको छ।

खैबर पख्तुनख्वा प्रहरीका आईजी हमीदले घटनाको निन्दा गर्दै आतंकवादविरुद्ध प्रहरी दृढतापूर्वक उभिएको बताएका छन्। उनले घाइतेलाई आवश्यक उपचार तथा स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्।

घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। विस्फोटको प्रकृति, घटनामा संलग्न व्यक्तिको पहिचान र क्षतिको थप विवरणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको