काठमाडौं, असोज १० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)मा क्रिकेट अपरेसन म्यानेजरका रूपमा कार्यरत दास मलेसिया क्रिकेट एसोसिएसनले खुलाएको सीओओ पदको आवेदन प्रक्रियाबाट छनोट भएका हुन् ।
मलेसिया क्रिकेट एसोसिएसनमा नयाँ जिम्मेवारी सम्हाल्नुअघि नै दासले क्यानबाट राजीनामा दिइसकेका छन् । उनले आफूले करिब एक महिनाअघि नै क्यानलाई राजीनामाबारे जानकारी गराएको बताएका छन् ।
दासले मलेसिया क्रिकेट एसोसिएसनसँग औपचारिक सम्झौतामा हस्ताक्षर गर्न भने बाँकी रहेको जानकारी दिएका छन् । सम्झौता प्रक्रिया पूरा भएपछि केही दिनमै मलेसिया जाने तयारीमा रहेको उनले बताए ।
नेपाली क्रिकेटमा लामो समय सक्रिय रहेका दासले राष्ट्रिय टोलीको कप्तानीसमेत गरेका थिए । खेलाडी जीवनपछि उनी क्रिकेट व्यवस्थापन र सञ्चालनको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
क्यानमा क्रिकेट अपरेसन म्यानेजरका रूपमा काम गर्दा दासले राष्ट्रिय तथा घरेलु क्रिकेटका विभिन्न गतिविधिको व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए । अब मलेसिया क्रिकेटको सञ्चालन तथा व्यवस्थापनमा उनले नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।
मलेसिया क्रिकेट एसोसिएसनको सीओओका रूपमा दासको नियुक्तिले नेपाली क्रिकेटकर्मीको अन्तर्राष्ट्रिय क्रिकेट व्यवस्थापनमा सहभागिता थप विस्तार भएको छ ।






