जनकपुरधाम, असोज १० । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । खेल रद्द भएपछि नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
वर्षाका कारण करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा सीमित गरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
नेपालका लागि जोराले ३२ बलमा ५७ रन तथा लोकेशले २२ बलमा ५२ रन बनाएर अविजित रहे । आसिफ शेखले २१ रनको योगदान दिए । जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।
नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा भएपछि खेल रोकिएको थियो । मैदानमा पानी परेपछि पिचलाई कभरले ढाकिएको थियो । वर्षा नरोकिएपछि जापानको इनिङ सुरु हुन नसक्दा खेल नतिजाविहीन भएको हो ।
नतिजासँगै नेपालले समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको छ । अफगानिस्तान २ खेलबाट २ अंकसहित समूह उपविजेता बनेको छ ।
क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वाटरफाइनलमा अफगानिस्तानले भारतको सामना गर्नेछ ।






