कांग्रेस महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो



काठमाडौं, असोज १० । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिएको हो ।

कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले सम्बन्धित नेताहरूलाई भेटेरै महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएका हुन् । उनले लामिछाने, ओली र प्रचण्डलाई छुट्टाछुट्टै भेटेर निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ । महाधिवेशनलाई भव्य बनाउन कांग्रेसले राजनीतिक दलका शीर्ष नेतासहित विभिन्न क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गर्ने तयारी गरेको छ ।

सहमहामन्त्री जबराका अनुसार उद्घाटन समारोहमा सबै राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

कांग्रेसले महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व र नीति तय गर्ने तयारी गरिरहेको छ । महाधिवेशनलाई लक्षित गर्दै विभिन्न तहका अधिवेशन तथा सांगठनिक गतिविधि अघि बढिरहेका छन् ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिताले कांग्रेसको महाधिवेशनलाई थप राजनीतिक महत्व दिने कांग्रेस नेताहरूको अपेक्षा छ ।

प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको