ओम प्रकाश यादव
रौतहट, असोज १३ । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटका पूर्व जिल्ला अध्यक्ष श्यामबिहारी यादवले आफूले पार्टी परित्याग गरेको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार झुटो तथा भ्रामक रहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमा आफूले जसपा नेपाल परित्याग गरेको भन्दै फैलाइएको हल्लाको खण्डन गर्दै यादवले आफू पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बाहिरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका हुन्।
यादवले आफू हालसम्म पनि जसपा नेपालमै रहेको र पार्टी परित्याग नगरेको स्पष्ट पारेका छन्।
हिजो सामाजिक सञ्जालमा श्यामबिहारी यादवले जसपा नेपाल परित्याग गरेको र पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको भन्ने आशयका विभिन्न पोस्ट तथा समाचारहरू सार्वजनिक भएका थिए। त्यसपछि यादवले आफू पार्टीमै रहेको स्पष्ट पार्दै त्यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गरेका छन्।
यसैबीच, जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि मन्त्री योगेन्द्र यादवले पनि श्यामबिहारी यादव पार्टीमै रहेको स्पष्ट पारेका छन्।
पूर्वमन्त्री यादवले आफ्नो फेसबुकमार्फत श्यामबिहारी यादव पार्टीबाट कतै नगएको र जसपा नेपालमै रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा उनको पार्टी परित्यागसम्बन्धी फैलाइएको खबरमा विश्वास नगर्न आग्रह गरेका छन्।




