देउवा समूहले १५ औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई गरायो जानकारी



काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औँ महाधिवेशनका लागि तय गरेको छुट्टै कार्यतालिकाबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ।

देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको र त्यसमा महाधिवेशनका विभिन्न चरणको कार्यतालिका समेटिएको नेता एनपी साउदले जानकारी दिएका छन्।

साउदका अनुसार देउवा समूहले महाधिवेशनको तयारी अघि बढाइसकेको छ। उनका अनुसार केन्द्रीय प्रतिनिधि, संयोजक तथा निर्वाचन अधिकृतहरू जिल्लाजिल्लामा खटिसकेका छन् र असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी छ।

देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने देउवा समूहको तयारी छ।

देउवा समूहले सभापति गगन थापा नेतृत्वको कांग्रेसले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको हो। यससँगै कांग्रेसमा समानान्तर रूपमा दुईवटा महाधिवेशन प्रक्रिया अघि बढिरहेका छन्।

संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशन गर्ने गरी यसअघि नै निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। कांग्रेसको आधिकारिक वेबसाइटमा प्रकाशित कार्यतालिकाअनुसार संस्थापन पक्षको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म तोकिएको छ।

संस्थापन पक्षले असोज १८ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने जनाएको छ।

यसरी कांग्रेसभित्र महाधिवेशनको मिति, प्रक्रिया र पार्टीको आधिकारिकतासम्बन्धी विवादबीच दुवै समूहले आ–आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाएका छन्। निर्वाचन आयोगमा देउवा समूहले कार्यतालिका जानकारी गराएसँगै विवाद थप औपचारिक प्रक्रियामा प्रवेश गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन १४, बुधवार १८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको