काठमाडौं , असोज १४ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकका लागि विभिन्न विधेयकमाथि छलफल तथा निर्णय गर्ने विषय समेटिएको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यसैगरी मन्त्री गौतमले नै ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैबीच, आज संघीय संसद्का चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ।
समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गरिने संसद् सचिवालयले जनाएको छ।




