काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद लाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।
देउवाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन्।
देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु गर्दैछ। उक्त पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ।
देउवाले कांग्रेसको करिब आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशनलाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको संघर्ष, त्याग र बलिदानलाई थप मजबुत बनाउन महाधिवेशन महत्त्वपूर्ण हुने उनको भनाइ छ।
उनले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रियाअनुसार हुने अधिवेशनमा नेता तथा कार्यकर्तालाई उत्साहका साथ सहभागी भएर सफल बनाउन आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढिरहेका छन्। संस्थापन पक्षले यसअघि नै आफ्नो अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ भने देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षले आ–आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएका हुन्।




