घनेन्द्र बस्नेतको निधनमा ओलीद्वारा श्रद्धाञ्जली, एमालेको शपथ ग्रहण स्थगित



काठमाडौं, असोज १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन्। क्यान्सरबाट पीडित बस्नेतको बुधबार उपचारका क्रममा निधन भएको थियो।

ओलीले बिहीबार भक्तपुरस्थित क्यान्सर अस्पताल पुगेर बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

बस्नेत एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०४८ सालको आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ सालमा भोजपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

वि।सं। २००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनमा सहभागी हुँदै राजनीतिमा सक्रिय भएका थिए। पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए।

पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा बस्नेत माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए। उनी एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया अघि बढ्दा भने बस्नेत घनश्याम भुसालसँगै नेकपा संयुक्तमा आबद्ध भएका थिए।

बस्नेतको निधनपछि एमालेले बिहीबारका लागि तय गरेको नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीत ३३ जना केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम असोज १६ गते दिउँसो ३ बजेका लागि सारिएको छ।

यसैबीच, नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालका अनुसार बस्नेतको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिनेछ। अन्त्येष्टिअघि आर्यघाटमै शोकसभा आयोजना गरिनेछ।

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिवार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको