वीरगञ्ज, असोज १५ । पर्साको धोबिनी गाउँपालिकामा मध्यराति डकैती गर्न आएको समूहको प्रतिकार गर्ने क्रममा एक महिलाको मृत्यु भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
धोबिनी गाउँपालिका–५ की ६२ वर्षीया लखरजिया देवी असोज ५ गते बिहान आफ्नै दुईतले पक्की घरको दोस्रो तलाको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। बिहान करिब ८ बजे उनी मृत भेटिएपछि इलाका प्रहरी कार्यालय पोखरियाको टोली घटनास्थल पुगेको थियो।
शवको अवस्था हेर्दा प्रहरीले सुरुमा हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको थियो। लखरजियाको मृत्यु राति करिब ३ बजे भएको खुलेपछि घटनास्थलमा प्रहरी अधिकारीको टोली र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो।
अनुसन्धानका क्रममा लखरजियाको मृत्यु डकैती गर्न घरमा प्रवेश गरेको समूहसँग प्रतिकार गर्ने क्रममा भएको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय घलथरिया भनिने राज कपुर बैठा र १८ वर्षीय रामु पासवान पक्राउ परेका छन्।
प्रहरीका अनुसार घटनाको राति करिब साढे ११ बजे तीनै जना राज कपुरको घरमा जम्मा भएका थिए। त्यही क्रममा चोरी गर्ने योजना बनाएर राति करिब साढे २ बजे लखरजियाको घरको पछाडिको पर्खाल चढेर माथिल्लो तलामा पुगेका थिए।
झ्यालबाट घरभित्र प्रवेश गरी उनीहरूले स्टिलको दराज फोडेर नगद तथा गरगहना चोरी गरेका थिए। अन्य कोठामा रहेका टिनका बक्सा फुटाउन थालेपछि लखरजियाले घटना थाहा पाएर प्रतिकार गर्न पुगेकी थिइन्। सो क्रममा भएको झडपमा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले चन्दनकुमारको घरबाट दुई थान सुनका चुरा तथा राज कपुरको साथबाट ७६० रुपैयाँ बरामद गरेको छ। घटनामा प्रयोग भएको भनिएको चक्कु, पिलास र गाडीको स्प्रिङ पत्तासमेत बरामद गरिएको छ।
डकैतीपछि उनीहरूले नगद तथा गरगहना आपसमा बाँडेको र एक जनाले उधारो खाएको पसलमा ३ हजार रुपैयाँ तिरेको समेत खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध हत्या कसुरमा सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लले जानकारी दिए।




