विद्युत् मर्मतका लागि पोल चढेका युवकको करेन्ट लागेर मृत्यु



जनकपुरधाम , असोज १५। धनुषामा विद्युत् मर्मतका लागि बिजुलीको पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्। प्रहरीका अनुसार घटना बिहीबार बिहान करिब पौने १० बजे भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार छिमेकीको घरमा विद्युत् बिग्रिएपछि मर्मत गरिदिन आग्रह गरिएकाले साह पोलमा चढेका थिए।

विद्युत् मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी साहको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो प्रादेशिक अस्पताल जनकपुर पठाएको डीएसपी खनालले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिवार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको