उच्चको फैसलाविरुद्ध अभिराम शर्मासहित चार प्रतिवादी सर्वोच्चमा स्वयं उपस्थित

साधारण तारिखमा राख्ने आदेश


महोत्तरी, असोज १६ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको मृत्यु भएको घटनासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरको फैसलाविरुद्ध प्रतिवादीहरूले सर्वोच्च अदालतमा अपील गरेका छन्।

अपीलको प्रक्रियाअन्तर्गत महोत्तरीका चार जना प्रतिवादी सर्वोच्च अदालतमा स्वयं उपस्थित भएका छन्। सर्वोच्चमा उपस्थित हुनेमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख रामशंकर मिश्र ‘साही’, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्।

चारै जना सर्वोच्च अदालतमा उपस्थित भएपछि उनीहरूलाई साधारण तारिखमा राख्ने आदेश भएको छ। यससँगै लामो समयदेखि विभिन्न तहका अदालतमा विचाराधीन थमन विक मृत्यु प्रकरण सर्वोच्च अदालतको प्रक्रियामा पुगेको छ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा घाइते भएका सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। उक्त घटनालाई लिएर अभिराम शर्मासहितका व्यक्तिविरुद्ध ज्यानसम्बन्धी मुद्दा चल्दै आएको छ।

महोत्तरी जिल्ला अदालतले यसअघि अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत जनकपुरले उक्त फैसला आंशिक रूपमा उल्टाएको थियो।

उच्च अदालत जनकपुरले अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र ‘साही’ र सुरेश पाण्डेसहित छ जनालाई जनही पाँच वर्ष कैद हुने फैसला गरेको थियो। तीन जनाको हकमा भने जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला कायम राखिएको थियो।

उच्च अदालतको फैसलामा थमन विकमाथि प्रत्यक्ष रूपमा प्रहार गरेको देखाउने वस्तुनिष्ठ प्रमाण नदेखिएको उल्लेख भए पनि अनुसन्धानका क्रममा प्राप्त बयान तथा अन्य प्रमाणका आधारमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गरिएको थियो।

शर्मासहित चार प्रतिवादीले भने आफूहरूलाई मधेस आन्दोलनसँग जोडेर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन्। उनीहरूले आन्दोलनको राजनीतिक नेतृत्व गर्नु र आपराधिक घटनामा प्रत्यक्ष संलग्न हुनु फरक विषय भएको बताउँदै आएका छन्।

अभिराम शर्मा महोत्तरी क्षेत्र नम्बर ३(क) बाट दुई पटक निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनले मधेस प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

रामशंकर मिश्र ‘साही’ जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख हुन्। उनी लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका छन्।

सर्वोच्च अदालतमा मुद्दाको कानुनी प्रक्रिया अघि बढिरहँदा शर्मा र मिश्रले आफूहरू जनताको सेवामा सक्रिय रहने बताएका छन्। उनीहरूले कानुनी लडाइँसँगै गरिब, विपन्न तथा समस्यामा परेका नागरिकका पक्षमा काम गर्ने बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रवार ०७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको